बिदेश जानेहरुले घरमा श्रीमती छँदैछे नि भनेर ढुक्क हुनु भएन !

प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका हुन्छन । तर सामाजिक र मनोवैज्ञानिक रुपमा परिवार सुरक्षित छन् छैनन् भन्ने कुरा चाहिँ उनीहरुले ख्याल गरेका हुँदैनन् । कतिपय भर्खरै विहे गरेर वा साना बालबच्चा भएका श्रीमती छाडेर विदेश जान्छन् । जबकि त्यो बेला महिलाले श्रीमानबाट मनोवैज्ञानिक र सामाजिक सुरक्षा चाहन्छन् । त्यो कुरा नभइदिँदा बिस्तारै ती महिलालाई मलाई सुरक्षा गर्ने मानिस नै रहेनछ भन्ने लाग्न थाल्छ । सँगसँगै हाम्रा सामाजिक सांस्कृतिक कुराहरु पनि छन् । कतिपय सासु ससुरा र अरु सदस्य भएका संयुक्त परिवारमा नै बस्छन् । परिवारका सदस्यहरुसित मनमुटाव हुनसक्छ । महिलाले विभिन्न लाञ्छनाको सामना गर्नुपर्ने हुन्छ ।

परिवारले गर्ने भेदभावका कारण परिवार छाडेर हिँड्ने समस्या पनि बढिरहेको छ । साथसाथै बुबा घरमा नभएको र आमाले राम्रोसँग हेरबिचार गर्न नसक्दा बालबच्चाले पढाईलाई पनि निरन्तरता दिन सकेका हुँदैनन् । कम उमेरमा विवाह गर्ने समस्या पनि देखिएको छ । महिला र बालबालिका रोगबाट ग्रसित भएको पनि पाइएको छ । त्यस्तो अवस्थामा उपचारका लागि पैसा धेरै खर्च हुन्छ । विदेशमा भएका श्रीमानले उचित समयमा पैसा नपठाइदिने वा नपठाइदिने समस्या छ । फोनमा पनि कुराकानी नहुने । यस्ता खालका कुराहरुले नेपालमा भएका श्रीमती, बालबच्चा वा घरका अन्य सदस्यलाई पनि समस्या पर्छ । बच्चाका लागि आमाबुबा दुवै महत्वपूर्ण हुन्छन् । परदेश जानेले श्रीमती छँदैछे नि भनेर अरु कुरा ख्याल गर्दैनौं । एकजनाले हेरे भइहाल्यो नि भन्ने पनि हुन्छ । तर, घरमा समस्या पर्दा श्रीमानले जति छिटो समस्या समाधान गर्न सक्छ, श्रीमती नगर्न पनि सक्छ ।

मानिसले भौतिक कुराको मात्रै आवश्यकताको आधार बनाएको छ । पैसा वा घर भयो भने सबै सुविधा हुन्छ भन्ने बुझेको हुन्छ । सुख सुविधाका लागि भौतिक अवस्था यौटा पाटो हुनसक्छ । तर मनोवैज्ञानिक रुपमा एकजना मानिसको उपस्थिती पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एकअर्कालाई दिने समय भनेको पनि धेरै ठूलो लगानी हो । कोही व्यक्ति विदेशमा छ भने उसले घरपरिवारलाई कहाँ, कति समयका लागि छाड्ने भन्ने ख्याल गर्नुपर्छ । घरपरिवारबाट आउन सक्ने लाञ्छनाका विषयमा पनि सोचबिचार गर्नुपर्छ । यी कुरा घरपरिवारमै बसेर छलफल गर्दा राम्रो हुन्छ । विदेश जानुअघि नै यस्ता कुराको तयारी भयो भने अहिले देखिएका समस्या आधा कम हुन्छन् ।

श्रीमान विदेश गएको गएको छ भने जन्मान्तर हुने नै भयो । विदेशमा काममा नै केन्द्रित हुनुपर्छ । पैसा कमाएर कसलाई पठाउने भन्ने कुरामा पनि अन्योल विदेशमा बस्नेहरुलाई हुन्छ । ५/६ वर्षसम्म विदेश बस्दा समयको अन्तर पनि त हुने भयो । त्यो समयअन्तरले धेरै कुरालाई प्रभाव पारेको हुन्छ । त्यसकारण परिवारमा द्वन्द्व भएको छ । धेरै किसिमका समस्याको सामना पुरुषले पनि गरिरहेका छन् । चिन्ताका कारण प्रगति गर्छु, सम्पत्ति जोड्छु भन्ने कुरा नै पूरा गर्न नसक्ने अवस्था हुन्छ ।

एउटा व्यक्ति अर्को व्यक्तिसित शारीरिक रुपमा नै टाढा रहन्छ भने उसले जीवनमा भएको समस्या या खुशीका कुरा बाँड्न पाइरहेको हुँदैन । उमेर बढिरहेको छ, बालबच्चा हुर्किरहेका छन् । तर एकअर्कामा कुरा बाँड्न नसक्दा आफ्नै श्रीमान वा श्रीमती पनि नौलो हुनसक्छ । मान्छे नै फरक लागेपछि उसले गरेको कुराकानी पनि फरक जस्तो लाग्न थाल्छ । सँगै हुँदा कुराकानी भएपछि समस्या समाधान हुँदै जान्थ्यो । चारपाँच वर्षपछि सम्बन्ध सुधार गर्न खोजे पनि सुधार हुन मुश्किल हुन्छ । त्यै भएर वैदेशिक रोजगारीसित सम्बन्धित भएका व्यक्तिहरुमा आजकाल धेरै सम्बन्धविच्छेदका घटना भइरहेका छन् ।

धेरै वर्षपछि भेट हुँदा आपसमा नौलो लाग्नु स्वभाविकै हो । नौलो हुन थालेपछि मनमुटाव सुरु हुन्छ । मनमुटाव सहित किन सम्बन्धलाई अघि बढाउने भन्ने कुराले पनि सम्बन्धविच्छेद हुने क्रम चाहिँ बढिरहेको छ ।
आत्महत्या विश्वमै जटिल विषय बनेको छ । व्यक्तिलाई दुःख भएको, मेरो जीवन नै के रहेछ र ? भन्ने महसुस हुन थाल्यो भने त्यसपछाडी धेरै कुरा हुन सक्छन् । मानिस निरास हुन थाल्छ । त्यसले आत्महत्याको अवस्थासम्म पुर्‍याउँछ ।
यस्तो बेलामा घरपरिवारका सदस्य र साथीभाइले विचार गर्न सक्छन् । आत्महत्या गर्न खोज्ने व्यक्तिले आफूलाई मर्न मन लागेको कुरा कुनै न कुनै रुपमा भनिरहेका हुन्छन् । ह्या बाँचेर के छ र ? मलाई मर्न मन लाग्यो, जीवन के हो र ? भन्ने जस्ता कुराहरु कुराकानीका क्रममा उसले भनिरहेको हुन्छ ।

कोही मानिस एक्लै बस्न थाल्यो, खाना राम्ररी खान सकेको छैन भने पनि उसको राम्रोसित ख्याल गर्नुपर्छ । त्यतिबेला विशेषज्ञसित सल्लाह सुझाव लिनुपर्छ । ढिला गर्न हुँदैन । विदेशमा बस्नेहरुले घरमा के कस्तो भइरहेको छ भन्ने कुराको विश्लेषण गर्नुपर्छ । कसैको कुरामा लागेर चाहिँ यो सही र उ गलत नभनिदिँदा सहयोग हुनसक्छ । घरका हरेक सदस्यसँग बाक्लो रुपमा कुराकानी गर्नुपर्छ । छुट्टि मिलाएर चाँडो चाँडो घरपरिवारसित भेटघाटका लागि आउनुपर्छ । घर आएर पैसाको कुरा मात्रै नभएर आमाबाबु, श्रीमती, बालबच्चाका समस्यालाई समाधान गर्न आग्रसर हुनुपपर्छ । घरपरिवारका सदस्यबिचमा मनमुटाव भए मेरो कारणले त होइन भन्ने कुरामा सचेत हुनुपर्छ । osnepal

यो पनि पढ्नुस

विवाह भएको केही महिनामै साथीसँगी तथा आफन्तजनको प्रश्न आइरिन थाल्छन्, खुसीको खबर कहिले सुन्न पाइन्छ ? उता दम्पतीको ताक अर्कै हुन्छ । पहिले करिअर निर्माण अनि मात्र फेमेली प्लानिङ ।

हिजोआजका विवाहित जोडीहरू योजना बनाएर मात्र शिशुलाई धर्तीमा पदार्पण गराउँछन् । उनीहरूबीच यति महिनापछि, यति वर्षपछि मात्र सन्तान ट्राइ गर्ने भनेर योजना बनेको हुन्छ । यद्यपि गर्भवती हुन सोचेजस्तो सहज नहुनसक्छ । कसैलाई एउटै प्रयासमा गर्भ रहनसक्छ भने कसैलाई महिनौं प्रयास गर्नुपर्ने हुन्छ ।

गर्भवती हुनका सेक्स गर्नु जति जरुरी छ उति नै कसरी र कहिले सेक्स गर्दा गर्भ रहन्छ भन्ने कुराको जानकारी हुनु आवश्यक छ । यी कुरालाई बेवास्ता गर्दा गर्भ नरहनसक्छ ।

धेरैजसो दम्पतीलाई गर्भ रहनका लागि कुन समय सेक्स गर्नुपर्छ भन्ने जानकारी नभएको पाइयो । सेक्सको समय सही भयो भने गर्भ बस्न कठिनाइ हुँदैन ।

गर्भ धारणका लागि कति पटक र कसरी सेक्स गर्ने भन्ने जानकारी भयो भने महिनौं कोसिस गर्नु पर्दैन । आफ्नो योजनाअनुरूप सहजै गर्भधारण गर्न सकिन्छ । दम्पतीलाई यस्तो कुराको जानकारी नभएको स्थितिमा समस्या समेत सिर्जना हुनसक्छ ।

उसो भए गर्भधारणका लागि कुन बेला, कति पटक र कसरी सेक्स गर्ने त ?

गर्भ कसरी रहन्छ ?

जब पुरुष प्रजनन कोष ‘शुक्रकीट’ को महिलाको गर्भाशयमा अवस्थित अण्डसँग मेल भएर त्यसलाई फर्टिलाइज गर्छ तब मात्र कुनै पनि महिला गर्भवती हुन्छिन् ।

कति पटक राख्ने सम्बन्ध ?

एउटा पेरेन्टिङ वेबसाइटले १ हजार १ सय ९४ दम्पतिमाथि अध्ययन गरेको थियो । उक्त अध्ययन सन्तान चाहने दम्पतिमाथि गरिएको थियो । अध्ययनमा उनीहरूले गर्भधारणका लागि कति पटक सेक्स गरेका थिए भन्ने कुरा जान्न प्रयास गरिएको थियो ।

यस्तो देखियो ?

उक्त अध्ययनका अनुसार आमाबाबु बन्न चाहने ती दम्पतीलाई औसतमा ७८ पटक सेक्स गर्दा सफलता हात लागेको थियो । यो क्रम औसत छ महिना चलेको थियो भने उनीहरूले एक महिनामा औसत १३ पटक सेक्स गरेका थिए ।

गर्भधारणका लागि कुन आसन राम्रो ?

कतिपय मानिसमा के विश्वास छ भने गर्भधारण आसनमा पनि निर्भर हुन्छ । यसका लागि लगभग तीन चौथाइ मानिस मिसनरी पोजिसन -महिला तल र पुरुष माथि सुतेर गरिने यौन आसन) लाई उपयुक्त माने भने ३६ प्रतिशत जोडीले डगी स्टाइल पछ्याए ।

गर्भधारणका लागि उपयुक्त समय

विशेषज्ञहरूका अनुसार महिनावारी -डिम्ब निष्कासनको समय) थाहा पाउनु र डिम्ब निष्कासनको पाँच दिनअघि तथा त्यसै दिन सेक्स गर्दा गर्भ रहने सम्भावना बढी हुन्छ ।

डिम्ब निष्कासन के हो ?

डिम्ब निष्कासनले कुनै पनि महिलाको महिनावारीमा महत्वपूर्ण भूमिका खेल्छ । यो त्यही प्रक्रिया हो जसअन्तर्गत परिपक्व डिम्ब डिम्बाशयबाट निस्किएर फर्टिलाइज हुनका लागि तयार रहन्छ ।

डिम्बको आयु ?

डिम्ब निष्कासन प्रक्रियामा निस्किएको डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिजाइज हुनसक्छ । सेक्सका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म पनि रहन सक्छ ।

बढी सम्भावना

गर्भ रहने बढी सम्भावना तब रहन्छ जव डिम्ब निष्कासनका बेला शुक्रकीट फेलोपियन ट्युबमा पहिल्यैदेखि मौजुद रहेको हुन्छ ।

कहिले हुन्छ डिम्ब निष्कासन ?

महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतः अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ । त्यसैगरी अधिकांश महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यविन्दुभन्दा ४ दिन पहिले वा पछि हुनसक्छ ।

क्यालेन्डरको सहारा

धेरै महिलामा महिनावारी चक्र ठीक २८ दिनमै हुँदैन । यस्तो छ भने महिलाहरूले महिनावारीको क्यालेन्डर बनाएर महिनावारी चक्रको लम्बाइ एवं मध्यविन्दुको अनुमान लगाउन सक्छन् ।

भेजाइनल सेक्रेसन

महिनावारी चक्रको क्यालेन्डरका अतिरिक्त डिम्ब निष्कासन समय अनुमान लगाउने अन्य तरिका पनि छन् । तीमध्ये एउटा भेजाइनल सेक्रेसनमा ध्यान दिनु पनि हो । डिम्ब निष्कासनअघि भेजाइनल सेक्रेसन सफा, ओसिलो एवं लचिलो हुन्छ ।

पछि यसो हुन्छ

डिम्ब निष्कासनपछि तुरुन्तै सर्वाइकल म्युकस कम हुन्छ र यो बाक्लो, मधुरो तथा लगभग अदृश्यजस्तै हुनपुग्छ ।

तापक्रममा फरक

शरीरको बेसिक तापक्रम -आरामको अवस्थामा शरीरको तापक्रम) मा ध्यान दिएर पनि डिम्ब निष्कासन समयको अनुमान गर्न सकिन्छ । यसका लागि हरेक बिहान ओछ्यान छाड्नुअघि शरीरको तापक्रम जाँच्न सकिन्छ । तापक्रममा वृद्धि हुनुभन्दा २-३ दिनअघि कुनै पनि महिला गर्भवती हुने सम्भावना बढी हुन्छ ।

टेस्ट किट

जसरी बजारमा प्रेगनेन्सी टेस्ट किट बजारमा सहज रूपमा उपलब्ध छ त्यसरी नै ओभुलेसन -डिम्ब निष्कासन) डिटेक्सन टेस्ट किट पनि सहजै पाइन्छ । यसबाट डिम्ब निष्कासन भएनभएको थाहा पाउन सकिन्छ ।

उपयुक्त तौल

विशेषज्ञहरूका अनुसार सामान्यभन्दा बढी तथा कम तौल भएका महलिाहरूमा ओभुलेसन डिसअर्डरको खतरा बढी हुन्छ । तसर्थ गर्भधारण गर्न चाहने महिलाले तौल नियन्त्रण राख्नु आवश्यक छ ।

माथि उल्लेखित कुराहरूमा गौर गर्दा मोटामोटी कुरा प्रस्ट हुन सकिन्छ तापनि असामान्य अवस्थामा गर्भधारणका लागि ठोस कदम चाल्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।

प्रकाशित मिति May 25, 2019