२० वर्षदेखि डोजर चलाउँदै आएकी मुना भन्छिन-‘चप्पल किन्न पैसा थिएन’

जेठ महिनाको घामको राप, त्यहीमाथि धोवीखोलाको दुर्गन्ध । त्यसको पर्वाह नगरी एकोहोरो डोजर चलाउन तल्लीन हुनुहुन्छ–मुना घिमिरे श्रेष्ठ । हाल काठमाडौँ महानगरपालिका वडा २९ क्षेत्रमा रहेको धोवीखोलामा थुप्रिएको माटो पन्छाउने काममा उहाँ व्यस्त हुनु हुन्छ । डोजर चलाउन थालेको पनि ठ्याक्कै २० वर्ष लागेछ । त्यसबीच उहाँले जोखिमपूर्ण र गाह्रो काम मात्र गरिरहनुभएको छ ।डोजर चलाउनु भनेकै जोखिमपूर्ण पेसा हो ।सानैदेखि महिला–पुरुषबीच गरिने विभेद महसुुुस गर्दै हुर्किनुभएकी मुनालाई लाग्थ्यो–‘पुरुष ले नै गर्ने काम गर्न पाए नि हुने ।’

उहाँको परिवार गोरखाको बोर्लाङबाट तनहुँको आबुखैरेनी पुगेको थियो । त्यहीँ कक्षा ९ सम्मको अध्ययनपछि आमाबुबाका दुई छोरीमध्ये जेठी मुना आर्थिक उपार्जनका लागि रोजगारी खोज्दै नेपालगञ्ज पुग्नुभयो । हेभी इक्युपमेन्ट डोजरलगायतका निर्माण सामग्रीको कार्य गर्ने लामा स्वदेश निर्माण कन्स्ट्रक्सनमा मुनालाई रिसेप्सनिस्टको जागिर मिल्यो । डोजर राख्ने कन्स्ट्रक्सनमै काम पाउनु उहाँका लागि सुखद संयोग नै रह्योे । सानैदेखि पुरुषले गर्ने काम गरेर देखाउन पाए हुन्थ्यो भन्ने सोच राख्ने मुनाले रिसेप्सनको काम सकेर हरेक दिन त्यही डोजर नियाल्ने, कसरी स्टार्ट गर्ने, घुमाउने र त्यसका पार्टपुर्जामा ध्यान दिन थाल्नुभयो ।

उहाँको यस्तो गतिविधि देखेर त्यस कन्स्ट्रक्सनका निर्देशक मानबहादुर लामाले ‘तिमी डोजर चलाउन सिक्ने हो’ भनेर सोध्नुभयो ।कार्यालय समयपछि उहाँ त्यही डोजर राख्ने स्थानमा गएर सिक्न थाल्नुभयो । त्यत्तिबेलासम्म डोजरलगायतका हेभी इक्युपमेन्ट चलाउन सिक्ने ठाउँ कतै थिएन । उहाँले त्यहीँ सिकेर एक वर्षपछि सफलता साथ डोजर चलाउन थाल्नुभयो । यो २०५६ सालको कुरा कुरा हो । त्यसपछि उहाँ नारायणघाटको कालिका कन्स्ट्रक्सन हुँदै देशको राजधानी काठमाडौँ छिर्नुभयो । उहाँको अनुभवमा वास्तविक सङ्घर्ष राजधानी छिरेपछि सुरू भयो ।

थानकोटबाट कोटेश्वरसम्म डोजर चलाउने काम खोज्दै हिँड्दा चप्पल चुँडेर फाल्नु पर्ने अवस्था आयो । खाली खुट्टै हिँड्दै कामको खोजी गर्नुभयो । यसरी खाली खुट्टा नै हिँडेको देखेर कतिपय कन्स्ट्रक्सनका हाकिमहरूले उहाँलाई ‘तलदेखि माथिसम्मै हेरेर छैन–छैन कामसाम, दिमाख खुस्केकीजस्ती छ’ भन्दै हकारेको संस्मरण सुनाउनुहुन्छ । त्यत्तिबेला कलङ्की–कोटेश्वरसम्मको गाडी भाडा चार रुपियाँ थियो त्यो पनि तिर्न नसकी हिँडेर म काम गर्छु काम देऊ भन्दा कसैले पत्याएन तर पनि उहाँले हार मान्नुभएन । मुना भन्नुहुन्छ, ‘‘अहिले त यस क्षेत्रमा आउन महिला हिचकिचाउँछन् भने त्यसबेला मैले डोजर चलाउँछु भन्ने कुरा नपत्याउनु पनि अनौठो कुरा भएन ।’’

काम सोध्दै हिँड्ने क्रममा तत्कालीन तेज कन्स्ट्रक्सनका सञ्चालक बद्रीकुमार श्रेष्ठले तिम्रो ट्रायल हेर्छौ भने पछि उहाँले गर्नुभएको सङ्घर्ष खेर गएन । त्यसपछि भने उहाँले पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही काम गर्ने क्रममै भेटिएका सुरेश श्रेष्ठसँग उहाँको विवाह भयो । काम सिक्दा नेपालकै पहिलो महिला डोजर चालक बन्ने सपना उहाँले देख्नुभएको थिएन । काम गर्दै जाँदा मुना सम्भवतः नेपालको पहिलो महिला डोजर चालक बन्न सफल हुनुभएको दाबी कतिपयको छ । सरकारी सेवामा प्रवेश गर्ने उद्देश्लये मुनाले फेरि पढ्नु थाल्नुभयो ।

वि.सं. २०६९ मा ५६.८८ प्रतिशतसहित एसईई उत्तीर्ण गर्नुभयो । २०७३ सालदेखि सडक विभागअन्तर्गत हेभिइक्युपमेन्ट काठमाडौँमा कार्यरत हुनुहुन्छ । उहाँले मुस्ताङसम्म पुगेर काम गर्नुभएको छ । यस काममा परिवारको पनि पूर्ण साथ छ उहाँलाई । मुना एन्ड राज कन्स्ट्रक्सनमार्फत उहाँले चारजनालाई रोजगारी पनि दिनुभएको छ । सरकारी जागिरे हुनुभन्दा अगाडि भारतको गुजरातसम्म पुगेर उहाँले सडक निर्माण गर्ने काम गर्दा त्यहाँको गुजरात सरकारले सम्मान गरेको थियो । नेपालकै विभिन्न सङ्घ संस्थाले उहाँको काम र लगनशीलताको कदर गरे पनि नेपाल सरकारको तर्फबाट भने आफूलाई हौसला दिने कुनै काम नभएको उहाँका गुनासो छ ।

अहिले शिक्षित बेरोजगार बढिरहेको बेला प्रशस्त सम्भावना भए पनि यस क्षेत्रमा महिलाको संलग्नता ज्यादै न्यून र काम गरी हाले पनि निरन्तरता नदिने उहाँको अनुभव छ । हेभिइक्युपमेन्ट डिभिजन काठमाडाँैमा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत कृष्णराम थापाले हालसम्म यस क्षेत्रमा देशभर करिब चार÷पाँच जना मात्र महिला रहेको र मुना घिमिरे श्रेष्ठ भने नेपालकै पहिलो डोजर अपरेटर भएको जानकारी दिनुभयो ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति May 21, 2019