श्रीमती चै चाहिने छोरी नचाहिने ?

निर्मला शर्मा

धनगढीको एउटा गैरसरकारी संस्थामा काम गर्ने एकजना महिलाको परिवार सुखी थियो । दुई मात्र सन्तान इश्वरका वरदान थिए । १४ र १० वर्षे छोरी हुर्केपछि उनी घर बाहिरको काम समेत भ्याउन थालेकी थिइन् । तेस्रो सन्तानको त कल्पना पनि थिएन ।

सासू ससुरा र कतिपय आफन्तले बेलाबेला ‘छोरा नभएको घर’ भन्दा मन चसक्क भएपनि उनले यस्ता लाञ्छनाहरु पचाइसकेकी थिइन । तर, प्रविधिले पेटमा रहेको भ्रुणको पहिचान गरिदिने निश्चित भएपछि उनले मन थाम्न सकिनन्, बच्चा पाउने निर्णय गरिन । नभन्दै उनको तेस्रो सन्तानका रुपमा छोरा जन्मियो ।

तीन हप्ता अघि मैले काठमाडौं कै एकजना श्रमिक महिलालाई भेटेकी थिएँ । उनको पहिलो छोरी १० वर्ष पुगेपछि गर्भ रहेको थियो । उनले पनि अस्पताल गएर भ्रुणको लिङ्ग पहिचान गरिन् । दोस्रो बच्चा पनि छोरी रहेछ । यो थाहा पाउँदा पाउँदै पनि उनले त्यसलाई फाल्न सकिनन् । उनी भन्छिन्, ‘गर्भ फाल्न पाँच हजार लाग्छ भने, बिहान बेलुका काम गरेर खानुपर्ने कसरी ल्याउनु त्यत्रो पैसा ?’

त्यसको परिणाम उनले दोस्रो पटक पनि छोरी जन्माइन् । उनी अहिले पछुतोमा छन् । छोरी जन्मिएयता लोग्ने एकदमै कम मात्रामा कोठामा आउँछन् । घर परिवारले गर्ने व्यबहार परिवर्तन भएको छ ।

पछुतो मान्दै उनी भन्छिन् ‘आफुसँग पाँच हजार रुपैयाँ भएको भए यो जन्मने थिइन । लोग्नेको व्यवहारमा पनि यति परिवर्तन आउने थिएन । रातो दिन सौता भित्रिने चिन्ता पनि थपिने थिएन ।’

धनगढी र काठमाडौं दूई फरक पृष्ठभूमिका महिलाको साझा पीडा छ । उनीहरुले छोरा नै पाउनु पर्नेछ । अहिले प्रबिधिले त्यसलाई सजिलो बनाइदिएको छ । त्यसको प्रत्यक्ष असर छोरीमाथि परेको छ । नेपाली समाजमा वर्षांैदेखि शोषण, उत्पीडन र अन्याय सहेर बसेका महिलामाथि अब झन् ठूलो खतरा थपिएको छ । प्रविधिका कारण अब छोरीहरु गर्भमै मारिने क्रम बढ्दै छ ।

स्वास्थ्य मन्त्रालयको एक विवरण अनुसार, पछिल्लो पाँच वर्षमा नेपालमा ३ लाख ५० हजार गर्भपतन भएका छन् । यसमध्ये ठुलो संख्यामा छोरीहरु थिए भन्न सकिन्छ ।

सामाजिक कार्यकर्ता तथा चिकित्सक डा. अरुणा उप्रेतीले गरेको एउटा अध्ययनले के देखाएको छ भने २४ सय छोरा जन्मिएकोमा २७ सय छोरी जन्मिएका थिए ।

डा. उप्रेती भन्छिन्, ‘उपत्यका बाहिरको मेरो अध्ययन विवरण हेर्दा प्राकृतिक रुपमा छोरी धेरै जन्मन्छन् भन्ने देखाउँछ ।’ नेपालको हालको जनसंख्यामा महिलाको संख्या तुलनात्मक रुपमा धेरै देखिनुले पनि उप्रेतीको अध्ययन वास्तविकतमा आधारित रहेको भन्न मिल्छ ।

हरेक व्यक्ति आमाकै कोखबाट जन्मिन्छ । तैपनि समाज जननीकै उपेक्षा गर्छ ।

भ्रुणको लिङ्ग पहिचानको सुविधाका कारण भारतमा जनसंख्याको बनौट नै परिवर्तन हुन थालेको छ । डा. उप्रेतीकै भनाइमा, ‘भारतमा ८ सय छोरी जन्मिदा १ हजार छोरा जन्मन थालेका छन् । यो यहि प्रविधिका कारणले हो ।’ यहि स्थितिलाई थाहा पाएर चर्चित भारतीय चलचित्र नायक आमिर खानले भ्रुण हत्यालाई आफनो कार्यक्रमको विषय बनाएर हलचल मच्चाएका थिए ।

अझ त्यहाँको मेदान्त अस्पतालमा त केही वर्ष अघिदेखि सार्वजनिक रुपमा सूचना टाँस गरेर भनिएको छ, ‘यँहा लिंग पहिचान गरिदैन ।’ यो सूचनाको महत्व आज पनि उत्तिकै छ ।

प्रविधिका कारण मानिसहरु यति स्वार्थी भए कि नौ महिनापछि जन्मिने सन्तानको लिङ्ग के हुनुपर्छ बाबु आमाले पहिल्यै निर्णय गर्न थाले । सृष्टिको मर्म समाप्त गर्न मानवभित्र हुर्किएको यो बर्बरता बुझेर हुनसक्छ अस्पताल प्रशासन यस्तो सूचना टाँस्न बाध्य भएको ।

नेपालमा गर्भमा छोरा छ या छोरी भनेर लिंग पहिचान गर्नु कानुनी रुपमा दण्डनीय छ । तर, व्यवाहारमा भने कतै एक महिना त धेरै ठाउँमा तीन महिना नपुग्दै भ्रुणको लिङ्ग पहिचान भइराखेको छ । यहि पहिचानका आधारमा गर्भपतन भइराखेको छ । तर यो अपराध हो भन्ने समेत भएपनि दण्ड दिएको पाइएको छैन ।

तथ्याङ्कशास्त्री डा. पदम खतिवडाका भनाइमा, ‘अहिले देश बाहिर रहेको १९ लाख मध्ये १७ लाख जनसंख्या पुरुषको छ । यसरी हेर्दा अहिल्यै पनि नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा कम छ भनेर मान्नुपर्छ । त्यसमाथि यसरी भ्रुणको लिङ्ग पहिचान गरेर गर्भमै हत्या हुन थालेपछि आगामी दिनमा जनसंख्यामा चरम असन्तुलन आउने खतरा रहन्छ ।’

समाजशास्त्री गणेश गुरुङ भन्छन्, ‘पुरुषहरु यौनिक रुपमा असन्तुष्ट हुने जात हो । यदि महिला कम भए भने उनीहरु झन् आक्रमक हुन्छन् । यसको अर्थ महिला माथि झन् झन् हिंसा बढ्छ ।’

गुरुङ्गका भनाइमा, सामाजिक मान्यता अहिले पनि छोरा भनेको बाबु आमालाई पाल्ने बीमा हो भन्ने मान्यता छ । त्यो रहि रह्यो भने छोरा चाहने क्रम हट्न सक्दैन ।’ यसले त ‘बुढेसकालको सहारा छोरा’ भन्ने मान्यता झन्झन् बलियो बनाउँदै लानेछ ।

अशुरक्षित गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्ने कुरालाई ख्याल गरेर सरकारले २०५९ साल असोज १० मूलुकी ऐन ११ औं संसोधनले गर्भपतन गर्न पाउने कानून ल्याएको हो । त्यो पनि १२ हप्ता सम्मको मात्र ।

तर, गर्भपतन गर्न पाउने कानूनी मान्यता भएपनि बच्चाको लिंग पहिचान गर्ने उद्देश्यले भिडियो एक्सरे समेत गर्न पाइँदैन । नेपालको मुलुकी ऐन ज्यान मार्नेको महल दफा २८ ‘ग’ मा उल्लेख भए अनुसार, यदि कसैले गराएमा तीन महिना देखि ६ महिनादेखि २ वर्षसम्म कैद हुने व्यवस्था समेत छ ।

मूलुकी ऐनलाई विस्थापित गरि गत भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहिता ऐनले पनि १२ हप्तासम्मको गर्भपतन गर्न सक्ने व्यवस्थालाई नै निरन्तरता दिएको छ ।

‘सामाजिक मान्यता अहिले पनि छोरा भनेको बाबु आमालाई पाल्ने बीमा हो भन्ने मान्यता छ ।

त्यो रहि रह्यो भने छोरा चाहने क्रम हट्न सक्दैन ।

१२ हप्तादेखि २५ हप्तासम्मको गर्भपतन गरेमा एक वर्ष र २५ हप्ताभन्दा माथिको गर्भपतन गरेमा ३ वर्ष कैद सजायको व्यवस्था छ । अझ अपराध संहिताले भ्रुणको लिंग पहिचान निरुत्साहति गर्न लिंग पहिचान गर्नेलाई थप ६ महिनासम्म कैद सजाय र लिंग पहिचान पछि गर्भपतन गर्नेलाई एक वर्ष कैद सजाय थपेको पनि छ ।

हरेक व्यक्ति आमाकै कोखबाट जन्मिन्छ । तैपनि समाज जननीकै उपेक्षा गर्छ । सकेसम्म छोरीको साटो छोरो नै जन्मियोस् भन्ने चाहना राख्छ । ‘ढिलो होस् छोरा होस्’ भन्ने मानसिकताले लाखौं छोरीले आमाको गर्भमै मृत्युवरण गर्नु परेको छ ।

शिक्षित महिलामासमेत आफूले छोरा नपाए घरपरिवारले हेला गर्ला वा पतिले अर्को बिहे गर्ला भन्ने असुरक्षाको भावना हुन्छ । त्यसैले प्रविधिले लिंग पहिचान गरिदिने भएकोले छोरी रहेको थाहा हुने बित्तिकै महिलाहरु गर्भपतन गराउन तयार हुन्छन् ।

त्यस बाहेक नेपालको तराई क्षेत्रमा ‘छोरी जन्माउनु गरिब हुनु हो’ भन्ने बुझाइ छ । पहाडी क्षेत्रमा पनि ‘छोरा नभएको घर अँध्यारो’ भन्ने उखानै छ । यस्ता परम्परागत मान्यताका कारण पनि महिलाहरु गर्भमै छोरी मारेर पनि छोरा जन्माउन मरिहत्ते गरिरहेका छन् ।

समाज किन छोरीलाई यो धर्तिमा आउनै दिन चाहँदैन ? समाजमा स्वीकार गरिन्छ कि– परिवारमा आमा चाहिन्छ, श्रीमती चाहिन्छ, दिदी चाहिन्छ, बुहारी चाहिन्छ, बहिनी चाहिन्छ । तर, किन छोरी चाहिदैन ?

हुँदा हुँदा अब छोरीको भ्रुण पहिचान गरेर गर्भमै मार्ने क्रम बढ्दै जान थालेको छ । एकजना महिला चिकित्सकका भनाइमा, ‘महिलाहरु अस्पताल आएर यस्तो परिस्थिति देखाउँछन् कि डाक्टरलाई उसको भ्रुण हत्यामा सहयोग गरौं भन्ने लाग्छ । गर्भपतन नभए लोग्नेले अर्को विवाह गर्छ भनेर रुन थाल्छन् ।’

छोरी सृष्टिकर्ता हुन् । सृष्टिकर्तालाई गर्भमै पतन गराउँदा भोलि हाम्रो देशमा पनि चीनमा र भारतका केहि प्रान्तमा जस्तो महिलाको संख्या कम भएर छोराको विवाह गर्न कठिनाई नहोला भन्न सकिन्न ।

भारतमा सन् २००१ को विवरण अनुसार त्यहाँ महिलाको संख्या पुरुषको तुलनामा ६ करोडले न्युन छ । छोराको मात्रै खोजी हुन थालेकोले चीनले एक सन्तान नीति परिमार्जन गरिसकेको छ ।

नेपाली समाजमा महिलाको योगदान अतुलनीय छ । उनीहरु बच्चा हेर्ने, लुगा धुने, खाना बनाउने जस्ता काम गर्छन् जसलाई राष्ट्रिय आयमा समेत गणना गरिदैन । अब आएर छोरीहरु गर्भमै मारिन थाले, यसलाई ज्यादतीको पराकाष्टा हो भन्नु पर्दैन र ?

(निर्मला शर्मा सञ्चारिका समूहका निर्वतमान अध्यक्ष हुनुहुन्छ ।)

महिलाखबरबाट साभार।

यो पनि पढ्नुस

हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।

घरभित्र छिराउन मिल्दैन भनिने सिस्नो अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रूपैयाँ बराबरको बिक्री हुन थालेको छ । सिस्नोको उत्पादन, प्रशोधन र बिक्री गर्दै आएको सुनसरीको हिमालयन एग्रो प्रोडक्टले देशका मुख्य शहरहरूमा सिस्नो पाउडर पुयाइसकेको छ ।

राजधानीमा मुख्य कार्यालय रहेको सो कम्पनीले सिस्नो पाउडर देशभित्रमात्रै नभई अमेरिका, बेलायत, जापान, हङकङ, कोरियालगायतका मुलुकहरूमा पु¥याइसकेको छ ।

गोरखा, सिन्धुपाल्चोक, दोलखालगायत देशका विभिन्न ग्रामीण मुलुकहरूमा रहेका विभिन्न सहकारीहरूले सङ्कलन गरेको सिस्नोलाई राजधानीमा ल्याएर प्रशोधन गरी प्याकेजिङ र ब्राण्डिङमा जुटेको हिमालयन एग्रो प्रोडक्टले तयार गरेको रावा नामक ब्राण्डको सिस्नो सुप र चिया अत्यन्तै लोकप्रिय रहेको दाबी गर्छन् प्रबन्ध निर्देशक विशाल राई । वार्षिक ६० देखि ७० लाखको सिस्नो पाउडर बिक्री गर्दै आएका राईले यसकै आन्तरिक र बाह्य बजार विस्तार गर्नेतर्फ लागेको बताउँछन् ।

सिस्नो पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ-संस्थाहरूको पनि लर्को लागेको छ । त्यसमा गाउँघरमा विभिन्न आमा समुह, सहकारीहरूले सिस्नोको प्रशोधनमा जुटेका छन् भने शहरमा दर्जनौं सङ्घरसंस्था र कम्पनीहरुले विभिन्न ब्राण्डबाट सिस्नोको कारोबार गरिरहेका छन् ।

खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोबाट बनेको धुलो राम्रो मूल्यमा बिक्री हुनका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नो उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका छन् । सिस्नोको धुलोलाई दाल, ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नोको मुन्टा तरकारीको रूपमा खानेहरूको सङ्ख्या बढ्दो छ । सिस्नो पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकाले पनि यसको माग बढेको छ ।

मुलुकमा चुलिंदै गएको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई माथि उठाउन धेरै ठूलो कायापलट गर्नुपर्दैन । केबल जहाँ जे उत्पादन भइरहेको छ, जहाँ जुन स्थानमा जे कुराको सम्भावना हुन्छ त्यसलाई बुझेर आवश्यक व्यवस्थापन गर्न सके धेरै हुन्छ । सिस्नोको झार मुलुकका पहाडी क्षेत्रमा जहिंतहीं पाइन्छ ।

गाउँघरमा पाइने सिस्नालाई गाईवस्तुको लागि खोले वा गरिबहरुले दाल र सागको रुपमा प्रयोग गरिरहेको पाइन्छ । खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नोको प्रयोग भएको पाइन्छ । तर पछिल्लो समय सिस्नो औषधि सावित भएपछि यसको माग विदेशमा निकै महँंगो दरमा भएको पाइन्छ । धनीहरुले यसलाई बढी प्रयोग गरिरहेका छन् ।

सिस्नोलाई गुणस्तरीय औषधिय गुणलाई स्वदेशी बजार चिनाउनमात्रै सकियो भने यसको उपयोगिता बढेर आर्थिक क्रियाकलाप बढ्छ । यसको विदेशमा हुने माग बमोजिम निकासी गर्न सक्यौ भने नेपालले अहिले झेल्दै आएको व्यापारघाटाबाट बनेको घाउलाई मल्हम लगाउन सकिन्छ । हामी कहाँ अथाह मात्रामा विभिन्न फाईदाजनक बहुमूल्य जडिबुटीको सम्भावना रहेको छ । तर त्यसको पहिचान हुन नसक्नु अहिलेको विडमम्बनाको रुपमा लिनुपर्छ । सजिलै पाइने देशको जुनसुकै ठाउँमा उत्पादन गर्न सकिने सिस्नोलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकियो भनेमात्रै पनि यसैबाट देशमा निकै नै धन कमाउन सकिन्छ ।

सिस्नो जहाँ कही पनि पाइन्छ तर त्यसलाई अहिलेको अवस्थामा पनि गाईवस्तुको खोलेको रुपमा प्रयोग भईरहेको हामीले पाएका छौं । अमेरिका, बेलायतजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि आदि विभिन्न रूपमा सिस्नुको पात तथा जराको प्रयोग गर्दै आइएको छ । यसका साथै सिस्नोको प्रयोगबाट अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ।

सिस्नोको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ । सिस्नोसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् । हालैको एउटा अनुसन्धानले गाउँघरमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको देखाएको छ । सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ ।

साथै सिस्नोबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नो खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासुसमेत स्वस्थ्य रहेको पाइएको छ । त्यसैगरी सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रसमेत उल्लेख्य बृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।

सिस्नोमा के के पाइन्छ ? रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।

सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ । महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ । यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।

यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो । सिस्नोको प्रयोग गर्ने विधि १० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ ।

मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं । शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन । बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ ।

यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ । हाम्रो देश कृषि प्राधन देश भएको हुनाले यहाँ मध्यम वर्गका मानिसहरुको धेरै बसोबास छ र गरिबीको रेखामुनी पर्ने मानीस जो अस्पतालको पहुँच भन्दा धेरै टाढा रहेको छन् ।

यस्ता खालका मानीसहरुलाई यी बहुआयमिक खालका गाँउघरमै पाईने जडीबुटीका बारेमा चेतना दिन सके औषधी नपाएर अकालमा ज्यान गुमाउन बाध्य मानिसको संख्या कम गर्न सकिन्थ्यो । त्यस्तै जागिर नपाएर विदेशीएका जनशक्तिलाई हाम्रा गाँउघरका जडीवुटीको सदुपयोग बारेमा बुझाउन सके यस्ता बहुआयमिक जडीबुटीको खेती गरी आयआर्जनको राम्रो स्रोत हुने र यसरी विदेशीने जनशक्तिलाई कम गर्न मद्दत पुग्दथ्यो ।

नेपाल विकास उन्मुख राष्ट्र भएको हुँदा देशमा पाइने जडीबुटी संकलन गरी प्रशोधन गरि औषधिको रुपमा विदेश पैठारी गर्न सके राष्ट्रले राम्रो आम्दानी गर्न सक्थ्यो र रेमिट्यास र वैदेशिक सहयोगको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने थियो ।

प्रकाशित मिति May 19, 2019