भोलि देखि निषेधाज्ञालाई थप कडाइ गरिने, पसल खोल्न नपाइने…..

नेपालमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमण तीव्र गतिमा बढेपछि वैशाख १६ गतेदेखि देशका विभिन्न भागमा निषेधाज्ञा लगाइएको छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न शनिबार साँझसम्म संक्रमण बढेका काठमाडौँ उपत्यका लगायत २९ जिल्लामा निषेधाज्ञा गरिएको हो ।

कोरोना संक्रमणको पहिलो लहरमा तीनजना संक्रमित हुँदा २०७६ चैत्र ११ गते सरकारले पहिलोपटक लकडाउन सुरु गरेको थियो । तर, लकडाउन खुलेको १४ दिनमै संक्रमणको दर ह्वात्तै बढेको थियो । यसपटक पनि सरकारले लकडाउनकै नीति अवलम्बन गरेको छ । तैपनि हरेक दिन संक्रमितको संख्या रेकर्ड दरमा वृद्धि भइरहेको छ ।

यो संगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।

नेपाल प्रेसका अनुसार सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

बैंक तथा वित्तिय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय भएको छ । साथै, पत्रकारको प्रेस पासको हकमा सम्बन्धित संचारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रजिअ पराजुलीले जानकारी दिए । ‘अब प्रेस पास को–कोलाई दिने भन्ने कुरा सम्बन्धित मिडियाले उपलब्ध गराएको सूची हेरेर हामीले निर्णय गर्छौं’ उनले भने ।

आज देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित् फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार १६ हजार १४७ पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्रमण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना सङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ८०९ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार ७६७ रहेका छन् । त्यस्तै ९ वर्ष उमेर समूहका बालबालिका १६६, १० देखि १९ वर्ष उमेर समूहका ४५७ रहेका छन् ।[][]

[][]

प्रकाशित मिति May 2, 2021