बिरामीलाई निःशुल्क अक्सिजन जुटाइदिने युवाविरुद्ध अस्पतालले मुद्दा हाल्यो….

काठमाडौं। कोरोनाभाइरसले विश्वमै सबैभन्दा धेरै दयनीय अवस्थामा पुगेको भारतमा बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने एक युवाले कानुनी मुद्दा खेप्नुपर्ने भएको छ ।

ती युवाविरुद्ध अस्पतालले मुद्दा हालेको छ र जिल्ला प्रशासनले थप कारवाही अगाडि बढाएको छ । भारतीय मिडियाका अनुसार घटना उत्तर प्रदेशको जौनपुरको हो । जौनपुर जिल्ला प्रशासनमा बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने युवा विक्की अग्रहरीमाथि महामारी अधिनियम समेत कैयौं धारामा मुद्दा दर्ता गरिएको छ ।

बिरामीले अक्सिजन नपाएर तड्पिरहेको र एक युवाले ती बिरामीलाई अक्सिजन जुटाइदिएको खबर मिडियामा भाइरल भएपछि स्वास्थ्य विभाग र जिल्ला प्रशासन ब्याकफुटमा आएका हुन् ।

प्रशासनले अब यो विषयमा जाँच गरिने बताइरहेको छ । उत्तर प्रदेशको जौनपुर जिल्ला अस्पतालबाहिर अक्सिजनको अभावका कारण तड्पिरहेका बिरामीको लागि विक्की अग्रहरी देवदूत बनेर आएका थिए । विक्कले २९ अप्रिलका दिन अक्सिजनको अभाव भएका बिरामीलाई आफ्नो तर्फबाट अक्सिजन उपलब्ध गराएका थिए ।

उनले जिल्ला अस्पतालमा २५ देखि ३० बिरामीलाई अक्सिजन उपलब्ध गराइसकेका छन् । तर, जिल्ला अस्पतालका सीएमएसको उजुरीपछि प्रशासनले विक्कीविरुद्ध महामारी अधिनियम ३, आइपीसी धारा १८८ र २६९ अन्तर्गत मुद्दा दर्ता गरेको छ । सीएमएसका डाक्टर अनिल शर्माले मिडियालाई बताएअनुसार विक्की र उनका साथीहरु बिरामीलाई अक्सिजन दिनको लागि अधिकृत थिएनन् र उनीहरुसँग कुनै डिग्री छैन ।

उनले विक्की र उनका साथीहरुले यसरी अक्सिजन बाँड्नु अस्पतालको छवि खराब गर्ने प्रयास भएको दावी गरे । आफू अक्सिजन दिनको लागि अधिकृत पनि नभएको र आफूसँग डिग्री पनि नभएको अवस्थामा अक्सिजन दिनु बिरामीसँग खेलवाड गर्नु भएको उनले दावी गरे । पुलिस चौकी इन्चार्ज तारावती यादवले मुद्दा दर्ता भएको र जाँच भइरहेको बताएकी छिन् ।[][]

[][]

प्रकाशित मिति May 2, 2021