पुँजीवादीहरूले श्रमिकमाथि असीमित शोषण गरिरहेका छन्…:: विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मई दिवसलाई आफ्नो अमूल्य श्रमद्वारा संसारलाई आधुनिक सभ्यता प्रदान गर्ने श्रमिक वर्गको गौरवपूर्ण दिनका रुपमा स्मरण गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै विप्लवले नेपालमा दलाल पुँजीवादीहरूले श्रमिकमाथि असीमित शोषण गरिरहेको उल्लेख गरेका छन् ।

श्रमिक वर्गको सारा उत्पादनलाई राज्यको बल प्रयोग गरेर आफ्नो खल्तीमा भर्ने पुँजीवादी लुटका विरुद्ध बलिदानीपूर्ण विद्रोह गरेर मात्र आजका श्रमिकहरूले मानवजीवन जिउने अवसर प्राप्त गरेका हुन्’, विप्लवले भनेका छन्, ‘परन्तु आज पनि संसारमा विशेषगरी नेपालजस्ता

देशमा श्रमिक वर्गको जीवन आधारभूत आवश्यकता गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता समस्याहरूको चाङभित्र छट्पटाइरहेको छ । एकाधिकारवादी निगम पुँजीवादी एवम् दलाल पुँजीवादीहरूले असीमित शोषण गरिरहेका छन् ।’

उन्नत मानवजीवनका लागि श्रम र विद्रोह श्रमिक वर्गका बाध्यता र अधिकार भएको उल्लेख गर्दै विप्लवले श्रमिकहरू उत्पादनका औजार मात्र नभइ समृद्धिका स्रोत पनि भएको बताएका छन् ।

विप्लवले सत्ता र संसदीय व्यवस्था व्यवहारमा पनि असफल भइरहेको उल्लेख गर्दै यसले आफ्नो सङ्कट टार्न साम्राज्यवादी शक्तिहरूको निर्देशनमा अनेकौँ जालझेल गरिरहेको आरोप पनि लगाएका छन् ।[][]

 

प्रकाशित मिति May 1, 2021