रिठ्ठेभिर सेतीदेवीको मन्दिरवरीपरी यसकारण टाँसियो हजार भन्दा धेरै ऐना

रिठ्ठेभिरमा यसकारण टाँसियो हजार भन्दा बढी ऐना

सिन्धुली पूर्वी पहाडी र मध्य तराईका जिल्लाबाट राजधानी काठमाडौं भित्रने बाहिरिने सबै भन्दा छोटो दूरीको बनेपा–सिन्धुली–बर्दीवास (बीपी) राजमार्गमा दैनिक पाँच हजार बढी ठूलासाना सवारी साधन आवतजावत गर्दछन्।

नियमित रुपमा आवतजावत गर्ने सावरी साधनमात्र हैन यस राजमार्गमा नेपालको पूर्वी जिल्लाबाट राजधानी र राजधानीबाट पूर्वी जिल्लासम्म घुम्न निस्कनेहरूका सवारीको पनि उत्तिकै चाप हुन्छ। अन्नपुर्ण पोस्टमा राजन गाउँलेले लेखेका छन् ।

बीपी राजमार्ग अन्तर्गत रिठ्ठेभिरमा पुग्ने पुराना तथा नयाँ चालक र यात्रुका लागि भने एउटा आश्चर्य लाग्दो दृष्यले एकछिन रोक्किन बाध्य पुर्याउँछ। सडकको भित्ता खोपेर बनाइएको एउटा सानो सेतिदेविको मन्दिर र त्यसको वरीपरी भित्तै भरी झुण्डाइएका हजार बढी ऐना ।

जहाँ एक हजारबढी ऐनैऐनाका बीचमा सेतिदेवी माइको स्थापना गरिएको छ। दैवी शक्तिमाथिको आस्था र सुरक्षित यात्राको मनोभावनासँग जोडिएको यो ठाउँ सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट नजिकै छ।

यहाँ पुग्नेहरूलाई मन्दिर र ऐना किन राखियो भन्ने कौतुहलता पक्कै लाग्न सक्छ। रिठ्ठेभिरमा ऐनैऐनाको बीचमा सेतीदेवीको मन्दिर स्थापना गर्नुको कारण आश्चर्य र डरलाग्दो भएको स्थानीय बताउँछन्। यो त्यही ठाउँ हो जहाँ २०६८ वैशाख २० गते एउटा यात्रुबस रिट्ठे भिरबाट सुनकोसीमा खस्दा १४ जनाको घटनास्थलमै ज्यान गएको थियो। त्यसको पाँच महिनापछि असोज २६ गते सोही ठाउँमा सिन्धुलीबाट काठमाडौं जाँदै गरेको यात्रुबस सुनकोसीमा खस्दा ४२ जनाले घटनास्थलमै ज्यान गुमाए।

त्यसको ठिक ६ वर्षपछि २०७४ असोज २६ गते सोही स्थानमा अर्को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। २०७० भदौ ३१ गते रिट्ठेभिरमै भएको जिप दुर्घटनामा तीनजनाले ज्यान गुमाएका थिए। त्यसयता उक्त ठाउँमा मात्र भएका सवारी दुर्घ टनामा एक दर्जनबढीको ज्यान गइसकेको छ। पहिलो पटक सडक दुर्घटना देखेर त्रसित स्थानीयहरू त्यसयता पटक पटक हुने दुर्घटनाबाट थप भयभीत भएको सेतिदेवी मन्दिरका पुजारी नीरप्रसाद आचार्य सुनाउँछन्।

२०६८ असोज २६ गते ४२ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना देखेका स्थानीय बालबालिका, तन्नेरी र वृद्धवृद्धासमेत त्रर्सने, कहालिने र बर्बराउने गर्न थालेपछि सिन्धुलीका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको पहलमा मनमा पैदा भएको भय भगाउन सप्ताह पुराण लगाइएको पुजारी आचार्यको भनाई छ।

‘दुर्घटनाका मृतकका आफन्तसहित लगाइएको पुराणमा एक महिलाले काम्दै सुनकोसीको एउटा ढुङ्गा टिपेर देखाउँदै म सेतिदेवी हुँ, मेरो बासस्थानमा सडक निर्माण गर्दा क्षति पुर्याए पछि मैले मान्छेको भोग खान थालेको हुँ’, आचार्य त्यो घटना सम्झन्छन्,’मलाई सडकमै मन्दिर बनाएर बस्न दिएमात्रै राम्रो गर्छु। नत्र थप क्षति गर्छु।’ यो घटनापछि जापान सरकारले नै सडकको भित्तो खोपेर मन्दिर बनाइदिएपछि ऐना चढाउने र पूजा गर्न थालिएको उनी सम्झभन्छन्।

ती महिलाको भनाई र रिठ्ठेभिरमा सडक निर्माण गर्दा एक्साभेटर पल्टिने, बिग्रिनेजस्ता अनपेक्षित घटना हुने गरेपछि सडक निर्माण गर्दै आएको जापानिज कम्पनी हाज्माका प्राविधिकहरूको टोलीले सेतीदेवीलाई बोका बलि दिएपछि भने त्यस्ता घटना दोहोरिन छाडेको सेतिदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठ बताउँछन्। ‘यस्ता डरलाग्दा घटनाले अचम्मित बनाएपछि यहाँ सबैको पहलमा सेतिदेवीको मन्दिर स्थापना गरिएको हो,’ श्रेष्ठले भने।

यो पनि पढ्नुस

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

प्रकाशित मिति May 13, 2019