हजुरबुवालाई अन्तिम विदाइ गर्न घर फर्किए ह्यारी

राजपदवी त्यागेर विदेश गएका बेलायती पूर्वराजकुमार ह्यारी हजुरबुवालाई अन्तिम विदाइ गर्न घर फर्किएका छन्।

बेलायती सञ्चारमाध्यमहरूका अनुसार श्रीमती र छोरासँग अमेरिकामा बसिरहेका ह्यारी हजुरबुवा फिलिप्सको अन्तिम संस्कारमा सहभागी हुन आइतबार लन्डन आइपुगेका छन्।

उनी लस एन्जलसबाट ब्रिटिस एयरवेजको जहाजमा लन्डन आएका हुन्।

लन्डनमा उनी पाँच दिन क्वारेन्टिनमा बस्नेछन्। बेलायतले विदेशबाट आएकालाई १० दिन क्वारेन्टिनमा बस्नु पर्ने मापदण्ड बनाएको छ। तर कसैलाई नगई नहुने काम परे पाँच दिनमा पनि क्वारेन्टिनबाट निस्कन पाइन्छ। ह्यारी पनि पाँच दिनपछि कोरोना परीक्षण गरेर हजुरबुवाको अन्तिम संस्कारमा सहभागी हुने जनाइएको छ।

गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका राजकुमार फिलिप्सको आउने शनिबार अन्तिम संस्कार गरिनेछ।

ह्यारीसँग उनकी पत्नी मेघन मार्कल भने आएकी छैनन्। उनले आउन चाहेको भए पनि गर्भवती भएकाले आउन नसकेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ह्यारी र मेघनले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिँदै छन्।

केही समयअघि एक अमेरिकी टेलिभिजनमा अन्तर्वार्ता दिँदै ह्यारी-मेघनले बकिङहम प्यालेसमा आफूहरूले भोगेको पीडाबारे मुख खोलेका थिए। मेघनले आफूले राजपरिवारमा रंगभेद भोगेको र झन्डै आत्महत्याको अवस्थामा पुगेको बताएकी थिइन्।

 

प्रकाशित मिति April 12, 2021