पत्रकार महासंघको निर्वाचनः ६० जिल्लामा मतगणणा हुँदा काँग्रेस निकट विपुलको प्यानल नै अगाडी

२७ चैत्र, काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वको लागि बुधवार भएको निर्वाचनको मतगणना जारी छ ।

७७ जिल्लामा भएको चुनावको ६० भन्दा बढी जिल्लामा गणना लगभग सकिएको छ । अहिलेसम्म भएको मतगणनाले अध्यक्षका उम्मेदवार विपुल पोख्रेलको प्यानलले नै अग्रता बनाएको छ ।

काठमाण्डौको केन्द्रको मत गन्न भने बाँकी छ । १२ सय ३४ मत परेको काठमाण्डौको केन्द्रमा अहिले केहीबेरपछि मत गणना गर्ने तयारी छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उम्मेदवारी रहेको छ । यस्तै, प्रतिष्ठानतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

बिहान ११ बजेसम्ममा प्रतिष्ठानतर्फको सबै नतिजा आइसक्ने निर्वाचन अधिकृत राजन कुईँकेलले जानकारी दिए ।

प्रतिष्ठानतर्फको केन्द्रीय समिति सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका छन् । अधिकारी पोख्रेल प्यानलका हुन् भने दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै, एसोसिएटतर्फको पनि मतगणना चलिरहेको छ । चुनावका सबै नतिजा आउन अझै एक/दुई दिन लाग्ने निर्वाचन समितिका संयोजक कपिल काफ्लेले जानकारी दिएका छन् ।

अस्ति, ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको हो । बैतडीमा सदस्यता वितरणको विवादले जिल्ला कार्यसमितिको चुनाव हुन सकेन । बैतडीमा पनि छिटै नै चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।पाेख्रेल काँग्रेस निकट हुन् ।

प्रकाशित मिति April 9, 2021